
२०८२ भदौ ९ गते सोमबार, पोखरा–३०, कास्की ।
पोखरा विश्वविद्यालय (PU) र नेपाल इन्जिनियरिङ परिषद् (NEC) बीच Outcome Based Education (OBE) प्रवर्द्धन गर्ने र Washington Accord का प्रावधान अनुरूप मान्यता (Accreditation) प्रणाली विकास गर्ने सम्बन्धमा सम्झौता भएको छ । यही साउन २७ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त सम्झौतामा पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. डा. बेदराज के.सी. र नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्रा. डा. पद्मबहादुर शाहीले हस्ताक्षर गर्नुभएको हो । सम्झौतामा साक्षीका रूपमा पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन सह–प्रा. बुद्धि राज जोशी र नेपाल इन्जिनियरिङ काउन्सिलका रजिष्ट्रार ई. ध्रुवराज भट्टराईले पनि हस्ताक्षर गर्नुभएको थियो ।
सम्झौता अनुसार दुवै संस्थाले इन्जिनियरिङ शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि संयुक्त रूपमा विभिन्न गतिविधि सञ्चालन गर्नेछन् । यसमा OBE प्रणाली कार्यान्वयनका लागि अन्तरक्रिया तथा सेमिनार, शैक्षिक नेतृत्व क्षमता विकास, स्रोत तथा सामग्रीको साझेदारी, मार्गदर्शन पुस्तिका र नीतिगत दस्तावेज तयार गर्ने कार्य लगायतका कार्यक्रमहरू समावेश हुनेछन् । यी प्रयासहरूले नेपालमा इन्जिनियरिङ शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप उकास्ने र नेपाली इन्जिनियरहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचालन गर्न सहज हुनेछ ।
नेपाल इन्जिनियरिङ काउन्सिलले इन्जिनियरिङ शिक्षाको गुणस्तर र व्यावसायिक दक्षता सुनिश्चित गर्न Washington Accord सँग सहकार्य अघि बढाएको छ भने, पोखरा विश्वविद्यालयले विश्वस्तरीय विश्वविद्यालय बन्ने लक्ष्यसहित OBE प्रणालीलाई शैक्षिक ढाँचामा समावेश गरी विद्यार्थीको सीप र क्षमता विकासमा जोड दिँदै आएको छ । यस सम्झौताले Washington Accord अनुकूल मान्यता प्रणाली स्थापना गर्न तथा इन्जिनियरिङ शिक्षामा गुणस्तरीय सुधारमार्फत राष्ट्रिय विकासमा योगदान पुर्याउन दुवै संस्थालाई सहज हुनेछ ।